अडियो

‘उत्तर यूरोपका लिओनार्डो दा भिन्ची’ कहलिएका जर्मन चित्रकार, आलब्रेच ड्यूररले (Albrecht Durer) आफ्नो कृतिमार्फत संसारको सबैभन्दा सुन्दर हातलाई चित्रण गरेका थिए ।
त्यो नै ‘प्रार्थना गर्ने हात’ हो ।
ड्यूररको ‘प्रार्थना गर्ने हात’ नामक उत्कृष्ट कृतिको मोडेल नै उनका घनिष्ठ साथी हुन् । ड्यूररका साथी नै उनका संरक्षक थिए; चित्रकलामा कौशल रहेका ड्यूरर, परिवारको कमजोर आर्थिक अवस्थाका कारण चित्रकला सिक्न असमर्थ भएको बेला उनका साथीले आफूलाई बलिदान गर्दै ड्यूररलाई सहयोग पुर्‍याए ।
साथीको सहायताले आफ्नो अध्ययन समाप्त गरेर चित्रकलाको संसारमा प्रसिद्धि कमाउन थालेका ड्यूरर, अब साथीलाई सहयोग गर्ने आफ्नो पालो आयो भन्ने सोच्दै साथीकहाँ जान्छन् । अनि संयोगवश त्यस ठाउँमा उनको निम्ति परमेश्वरमा प्रार्थना गरिरहेका साथीलाई देख्छन् ।
“हे प्रभु ! गाह्रो कामको कारणले मेरो हात साह्रो भएको छ, त्यसैले म अब चित्र कोर्न नसक्ने भएको छु । ड्यूररलाई मेरो निम्ति समेत चित्र कोर्न सक्ने गरी सहयोग गरिदिनुहोस्, र तपाईंको महिमाको निम्ति सुन्दर चित्र कोर्न सहायता गरिदिनुहोस् ।”
दुई हजार वर्षअघि मानव–जातिलाई मुक्ति दिनको निम्ति यो पृथ्वीमा मानिस भई आउनुभएका येशूज्यू पुनरुत्थान हुनुभएको ४०औँ दिनमा स्वर्ग उचालिनुभएपछि यरूशलेमको एउटा सानो कोठामा सुन्दर हात भएका मानिसहरू भेला भए । त्योचाहिँ परमेश्वरमा पवित्र आत्माको निम्ति बिन्ती र प्रार्थना चढाउनको निम्ति थियो । तिनीहरूले १० दिनसम्म पेन्तिकोसको चाड पालन गर्दै परमेश्वरमा पवित्र आत्माको निम्ति गहिरो बिन्ती चढाएपछि अन्त्यमा येशूज्यूले गर्नुभएको प्रतिज्ञाबमोजिम पवित्र आत्मा प्राप्त गरे ।
प्रार्थना भनेको आत्मिक रूपमा अत्यन्तै अमूल्य कार्य हो, योचाहिँ आत्माको श्वासप्रश्वासजस्तै हो । सास नफेर्ने मानिस मृत भएझैँ हाम्रो आत्मा जीवित छ भन्ने कुराको प्रमाण नै ‘प्रार्थना’ हो ।